साक्षरता दर सबैभन्दा कम मधेशमा, कुन प्रदेशमा कति ?चीनमा देखिएको नेपालको ‘भिजिबिलिटी’

सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा ८२ प्रतिशत रहेको छ । कोशी ७९.७ प्रतिशत, गण्डकीमा ८१.७ प्रतिशत, लुम्बिनीमा ७८.१ प्रतिशत, कर्णाली ७६.१ प्रतिशत र सुदूरपश्चिममा ७६.२ प्रतिशत साक्षरता दर रहेको छ ।
1k Views

१८ भदौ, काठमाडौं । साक्षरता दर सबैभन्दा कम मधेश प्रदेशमा देखिएको छ । शिक्षा तथा मानव स्रोत विकासक केन्द्रका अनुसार मधेश प्रदेशमा साक्षरता दर ६३.५ प्रतिशत रहेको छ ।

‘चेतनाको स्तर र अशिक्षित भएर साक्षारता दर कम देखिएको हो । सबै निरक्षर भने छैनन् । साक्षरता बढाउन कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ केन्द्रका निर्देशक दिनेश घिमिरेले भने ।

केन्द्रका अनुसार सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा ८२ प्रतिशत रहेको छ । कोशी ७९.७ प्रतिशत, गण्डकीमा ८१.७ प्रतिशत, लुम्बिनीमा ७८.१ प्रतिशत, कर्णाली ७६.१ प्रतिशत र सुदूरपश्चिममा ७६.२ प्रतिशत साक्षरता दर रहेको छ ।

६७ वटा जिल्ला साक्षर घोषणा, १० जिल्ला बाँकी

केन्द्रका अनुसार हालसम्म ६७ वटा जिल्ला साक्षर घोषणा भएको छ । १० जिल्लाको घोषणा गर्न बाँकी छ । सप्तरी, सिरहा‚ धनुषा, महोत्तरी‚ सर्लाही‚ रौतहट‚ बारा‚ पर्सा, कालीकोट र डोल्पालाई साक्षर घोषणा गर्न बाँकी रहेको निर्देशक घिमिरेले बताए । उनका अनुसार बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश साक्षर घोषणा भएका छन् । लुम्बिनी, मधेश र कर्णाली प्रदेश बाँकी छ ।

‘कालिकोट र लुम्बिनी प्रदेश साक्षर घोषणाको तयारीमा रहेको छ । साक्षरता दिवस अगाडि नै घोषणा गर्ने योजना छ,’ निर्देशक घिमिरेले भने ।

केन्द्रका अनुसार १३१ वटा स्थानीय तह साक्षर घोषणा भएका छैनन् । १५ देखि ६० वर्षसम्म साक्षरता ८५ प्रतिशत छ । ५ वर्षमाथिको जनसंख्या २ करोड ६७ लाख २५ हजार २९५ रहेको छ । जसमा लेख्न-पढ्न सक्नेको जनसंख्या २ करोड ३ लाख ७७ हजार ९८० रहेको केन्द्रले जनाएको छ ।

विद्यालय तहमा हाल ७० लाख ७० लाख १० हजार ८०८ विद्यार्थी छन् । सामुदायिक, संस्थागत र परम्परागत गरी ३५ हजार ४४७ वटा विद्यालय छन् । जसमा सामुदायिक २७ हजार २९८, संस्थागत ८१४९, परम्परागत १४२४ रहेको छ । सामुदायिक सिकाइ केन्द्र २१५१ र खुला शैक्षिक कार्यक्रम सञ्चालन गर्ने विद्यालय १२१ र अनौपचारिक विद्यालय १७१ वटा छन् ।

के हो साक्षरताको सूचक ?

साक्षरताका १२ वटा सूचक रहेका छन् ।

१. राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षर पढ्न र लेख्न सक्ने ।

२. नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बिल पढ्न सक्ने ।

३. आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने ।

४. मोबाइल र क्याल्कुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्ने ।

५. ० देखि ९ सम्मका अङ्क अक्षर लेख्न सक्ने ।

६. १ देखि १०० सम्म गणना गर्न सक्ने ।

७. लेनदेनका हरहिसाब राख्न सक्ने ।

८. सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझ्न सक्ने ।

९. सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन सक्ने ।

१०. घडी हेरेर समय बताउन सक्ने ।

११. भित्तेपात्रो हेरी तिथिमिति बताउन सक्ने ।

१२. बैङ्क भौचर भर्न र चेक प्रयोग गर्न सक्ने ।

केन्द्रका अनुसार यी १२ वटा सूचीमध्ये ५० प्रतिशत जानेमा साक्षर भएको मानिन्छ ।

डिजिटल युगमा साक्षरता प्रबर्द्धन

५९औँ साक्षरता दिवस ‘डिजिटल युगमा साक्षरताको प्रबर्द्धन’ भन्ने नाराका साथ मनाइने भएको छ । दिवस आगामी ८ सेप्टेम्बर (भदौ २३) मा हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार दिवस साताव्यापी मनाइनेछ ।

सबैका लागि समावेशी र समतामुलक गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको सुनिश्चितता गर्ने उद्देश्य रहेको केन्द्रले जनाएको छ । ‘औपचारिक, अनौपचारिक र अरीतिक शिक्षाबीच अन्तरसम्बन्ध स्थापित गरी योग्यताका समकक्षता, गतिशिलता र पारगम्यता सुनिश्चित गर्दै राष्ट्रिय योग्यता प्रारूपमा आधारित शिक्षा प्रणालीको विकास गर्नु पर्नेछ,’ निर्देशक घिमिरेले भने ।

राष्ट्रिय योग्यता प्रारूपका आधारमा क्रेडिट बैंकिङ र क्रेडिट ट्रान्सफर प्रणाली लागु गर्ने रणनीति केन्द्रको रहेको छ । औपचारिक तथा अनौपचारिक रूपमा प्राप्त गरेको सिपको परीक्षण र प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने योजना पनि सरकारले बनाएको छ ।

साक्षरता दर बढाउन सामुदायिक तथा सार्वजनिक पुस्तकालय तथा वाचनालयहरूलाई राष्ट्रिय प्रणालीमा आबद्ध गरी संरक्षण, सुदृढीकरण एवं विकास गर्ने योजना रहेको केन्द्रले जनाएको छ ।

‘आजीवन सिकाइ तथा निरन्तर शिक्षाको लागि स्थानीय तहको प्रत्येक वडामा सामुदायिक सिकाइ केन्द्र स्थापना गरी आवश्यकताअनुसार विस्तार तथा सुदृढीकरण गरिनेछ,’ निर्देशक घिमिरेले भने ।

अनौपचारिक, खुला र परम्परागत विद्यालयबाट प्रदान गरिने शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीमा आवद्ध गरी औपचारिक विद्यालय शिक्षाको समकक्षी बनाउने घिमिरेले बताए ।

साक्षर नेपाल घोषणा गरी शिक्षित नेपाल बनाउनमा केन्द्रित आजीवन सिकाइका कार्यक्रम सञ्चालन गरिने केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले बताए ।

‘सातै प्रदेशमा समीक्षा कार्यक्रम चलिरहेको छ । कर्णालीमा हिजोदेखि सुरु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा मात्र साक्षरता दर बढाउन सकिन्छ । सबैको सहकार्य आवश्यक छ,’ उनले भने ।

यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गत आर्थिक वर्षमा साक्षर घोषणा भएका जिल्लाहरूलाई सम्मान गर्ने केन्द्रले जनाएको छ ।

कम्तीमा १० वर्ष वा सो भन्दा बढी एसईई परीक्षामा प्रौढ विद्यार्थी सहभागी गराउने अनौपचारिक विद्यालयलाई पनि सम्मान गर्ने कार्यक्रम छ । २०८१ को एसईई परीक्षामा सहभागी भई न्यूनतम ३.२ जीपीए ल्याउने प्रौढ विद्यार्थीलाइ सम्मान गर्ने केन्द्रले जनाएको छ ।

Share This Article
Leave a review