मधेशीलाई आशा जगाउँदै भोट माग्न थाले बालेन

bdk223
22 पटक हेरे
4 मिनेट पढ्ने समय

निर्वाचनपिच्छे भरोसा गर्ने नेताहरू फेरे पनि दुखका दिन फेर्न नसकेका मधेशका नागरिकले यसपटक बालेनको अनुहार हेर्न खोजेको आभास मिल्छ ।

५ माघ, जनकपुरधाम । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरूमध्ये एक हुन्- पुरूषोत्तम यादव । सोमबार मधेशको राजधानी जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको उद्घोष सभामा उनै यादव थिए पहिलो वक्ता ।

आफ्नो छोटो मन्तब्यमा यादवले सबैभन्दा पहिले सम्झिए मधेश । अनि सम्झिए भदौको उही आन्दोलन । त्यसपछि भने- हामी रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन यहाँ आएका हौं ।

त्यसपछि लस्करै बोल्ने सबैको भाषणको लय पुरुषोत्तमकै जस्तो भयो । काठमाडौं महानगरको प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्न गएका बालेन शाहमै सबैको ध्यान केन्द्रित भयो ।

कार्यक्रमका अन्तिम बक्ता रहेका रास्वपा सभापति रवि लामिछानेले पनि उही कुरा दोहोर्‍याए , ‘राज्यले मलाई जेल पुर्‍याउला कुनै परवाह छैन । किनकि देशले अब बालेन पाएको छ ।’

सभामा भाग लिन आएकाहरुले मञ्चमा अरू नेताहरूले भाषण गरिरहँदा पनि एकोहोरो बालेन, बालेन भन्दै नारा लगाइरहे । माघ ६ गते मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै छ । रास्वपाका वरिष्ठ नेता बालेनले झापा ५ बाट प्रतिष्पर्धा गर्दै छन् ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन पारेर रास्वपाले मधेशमा उदघोष सभा गरेको हो । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा नयाँ दल थियो ।

यो पार्टीको चुनावी अभियान शहरकेन्द्रित थियो । राज्यको शासकीय स्वरूपबारे रास्वपा स्वयम् पनि त्यसबेला प्रष्ट भइसकेको थिएन । २०६२/६३ को जनआन्दोलनपछि संघीयताका लागि सबैभन्दा धेरै बलिदानी दिएको र संघीयतालाई प्रेमसहित अपनत्व लिने प्रदेश मधेशले संघीयताका सवालमा अलमलमा रहने दलहरूलाई स्वीकार गर्ने सम्भावना थिएन ।

अघिल्लो चुनावमा रास्वपाको हकमा पनि त्यही सावित भयो । त्यसैको फलस्वरूप रास्वपाले करिब ३४ लाख मतदाता रहेको मधेशबाट एक लाखमात्रै मत पाउन सक्यो । त्यसैले पनि मधेशमा धेरै मेहनत गर्नुपर्ने रास्वपालाई लागेको हुनुपर्छ । यसमा अर्को एउटा संयोग पनि जुर्‍यो रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन स्वयम् मधेशका हुन् ।

मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा मधेशले मनाउँदै आएको बलिदानी दिवसको अवसर पारेर कार्यक्रम गर्नु संयोगमात्रै होइन ।

समानुपातिक समावेशिता, पहिचानसहितको संघीयतालगायतको मुद्दामा अघि सारेर भएको मधेश आन्दोलनका बेला सहिद बनेका महतोको शालिकमा माल्यार्पण गर्नु बालेनले संघीयताप्रति आफ्नो प्रतिवद्धता व्यक्त गर्नु पनि हो । करिब १० मिनेटको मैथिली भाषाको संबोधानमा उनले आफूलाई संघीयता पक्षधर सावित गर्न बारम्बार कोशिस गरे ।

‘धेरैले मलाई काठमाडौंमा र यहाँ जनकपुरमा पनि सोध्नुभयो ‘राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयता र प्रदेशप्रतिको धारणा के हो ?’ म यो भन्न चाहन्छु, प्रदेशलाई अझ बलियो बनाउनुपर्छ,’ उनले भने, ‘प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने होइन । प्रदेशको काम कम्तीमा तीन-चारवटा पालिकालाई जोड्ने हुनुपर्छ।

अहिले जनकपुरको मेयरले प्रमुख प्रशासकीय अधिकृत फेर्नु पर्‍यो भने काठमाडौं जानुपर्छ। किन ? जनकपुर प्रदेशको राजधानी होइन र ? राजधानी हो भने काठमाडौं किन जानुपर्ने ? सबै काम यहीँ किन नहुने ? त्यसैले प्रदेशलाई बलियो बनाउनुपर्छ ताकि काठमाडौं जानु नपरोस् ।’ मञ्चबाट बालेन जसै बोल्न रोकिन्थे,चौरमा जम्मा भएका नागरिकले भनिहाल्थेः अबकी बार बालेन सरकार ।

Share This Article
Leave a review